
काठमाडौँ
सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ। असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकपछि जानकारी दिँदै, रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि पनि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब २९ अर्ब ७२ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरिएको बताए।
उनका अनुसार, सरकारले बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि दक्षिण कोरिया सरकारबाट प्राप्त करिब १ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको अनुदान सहायता पनि स्वीकार गरेको छ।
सरकारले पूर्वाधार विकास, यातायात सञ्जाल सुधार र ग्रामीण क्षेत्रको समावेशी विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले यी सहुलियतपूर्ण ऋण र अनुदान सहायता स्वीकार गरेको जनाइएको छ।