News That Matters

संवैधानिक नियुक्तिको फैसलाअघि तीव्रगतिमा अख्तियार, महिनामै दर्जन ठूला मुद्दा


काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा गरिएको ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेका रिटको छिनोफानो हुने दिन नजिकिँदै गर्दा भ्रष्टाचार मुद्दा अभियोजनले तीव्रता पाएको छ । अख्तियारले जेठमा मात्रै २६ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ । 

अख्तियारले पछिल्लो समय दिनहुँजसो मुद्दा अभियोजन गरिरहेको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार सोमबार एकै दिन ६ मुद्दा विशेष अदालतमा दर्ता गरिएको छ ।

अख्तियारले चालु आर्थिक वर्षमा हालसम्म १ सय १८ मुद्दा दायर गरेको छ । सुरुका ६ महिना (साउन–पुस) मा ४६ मुद्दा दायर भएकामा त्यसपछिका पाँच महिना (माघ–जेठ) मा ७२ वटा मुद्दा विशेष अदालत लगिएका छन् ।

सर्वाधिक मुद्दा दायर गरिएको महिना जेठ हो । अभियोग लागेका व्यक्तिको पद र बिगोका हिसाबले यही महिनामै सबैभन्दा ठूला मुद्दा दायर भएका छन् । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीको हदबन्दीभन्दा बढी जग्गा हिनामिनामा अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समेत प्रतिवादी बनाएर २२ जेठमा मुद्दा दायर गरेको छ ।

यस मुद्दामा साढे १८ करोड बिगो मागदाबी गरिएको छ । यसअघि १ जेठमा कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध दूरसञ्चार प्राधिकरणका लागि टेरामक्सका उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाएको थियो । टेरामक्सको अनियमिततामा सवा तीन अर्ब बिगो कायम गरिएको छ ।

अख्तियारले मंगलबार मात्रै मधेश प्रदेशसभाका एमाले सांसद दीपेन्द्रकुमार ठाकुरलगायत विरुद्ध अस्पताल निर्माणको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दायर गरेको छ । नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद अनियमिततामा प्रबन्ध निर्देशक संगीता पहाडी र पूर्वप्रबन्ध निर्देशक सुनील पौडेललगायत विरुद्ध गत आइतबार मुद्दा दायर भएको छ । अख्तियारले त्यसबाहेक पनि घूस, झुटा शैक्षिक प्रमाणपत्र, गैरकानुनी सम्पत्ति आर्जन, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी, गैरकानुनी लाभ र हानि, राजस्व चुहावट लगायतका भ्रष्टाचार मुद्दा विशेष अदालतमा लगेको छ ।

अख्तियारले साउनमा ९, भदौमा १६, असोजमा ३, कात्तिकमा २, मंसिरमा ७, पुसमा ९, माघमा १३, फागुनमा २, चैतमा १२ र वैशाखमा १९ मुद्दा दायर गरेको थियो ।

साढे ४ वर्षअघिको नियुक्तिको फैसला बल्ल आउँदै

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार निर्णय सुनाउँदै छ । अध्यादेशमार्फत संशोधित कानुनबमोजिम २१ माघ २०७७ मा ३२ र १० असार २०७८ मा २० पदाधिकारी नियुक्ति गरिएको विरुद्ध परेका १५ रिटलाई सँगै सुनुवाइ गरेर संवैधानिक इजलासले आदेश दिन लागेको हो ।

पटक–पटक हेर्न नभ्याइनेमा परेर पेसी सर्दै आएकामा संवैधानिक इजलासले गत माघ मसान्तमा सुनुवाइ थालेको थियो । यसबीचका पेसीमा बहस सकिएर निर्णय सुनाउने मिति बुधबारका लागि तोकिएको हो । ‘इजलासले १६ जेठभित्र सबै अधिवक्तालाई बहस नोट बुझाउन आदेश जारी गरेको थियो, अब रिटको टुंगो लाग्छ,’ सर्वोच्चका सहायक प्रवक्ता नीराजन पाण्डेले भने ।

संवैधानिक निकायमा दुवै पटक नियुक्ति गर्ने बेला केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस प्रक्रिया आफूअनुकूल बनाउन अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेको थियो । संवैधानिक परिषद्का कुल ६ सदस्यमध्ये ५ को उपस्थितिले गणपूरक संख्या पुग्ने र गणपूरकमध्ये ४ को निर्णय बहुमत हुने कानुनी व्यवस्थालाई संशोधन गरेर अध्यक्षसहित बहुमत सदस्यको उपस्थिति गणपूरक हुने प्रावधान राखिएको थियो । उपस्थितमध्ये अध्यक्षसहितको बहुमतले सिफारिस गर्न सक्ने व्यवस्था पनि अध्यादेशले गरेको थियो ।

अध्यादेश जारीपछि संवैधानिक परिषद् अध्यक्ष तत्कालीन प्रधानमन्त्री ओली, सदस्यहरू तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक गरेर संवैधानिक आयोगमा सिफारिस गरेका थिए ।

त्यति बेला तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा बैठकमा अनुपस्थित थिए । संवैधानिक परिषद्बाट ३० मंसिर २०७७ र २१ वैशाखमा पदाधिकारी सिफारिस गरेको केही दिनमै तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए । सिफारिसको ४५ दिनभित्र संसदीय सुनुवाइ नभए नियुक्तिमा बाधा पर्ने छैन भन्ने संसदीय नियमावलीलाई आधार बनाएर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई नियुक्ति दिएकी थिइन् ।

संवैधानिक आयोगमा गरिएको सिफारिस र नियुक्तिविरुद्ध १ पुस २०७७ देखि १० साउन २०७९ सम्म १५ रिट परेका थिए । सर्वोच्चले सुनुवाइ नगरी लामो समयसम्म अल्झाएर राखेको भनी आलोचना हुँदै आएको थियो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासले गत ३० माघदेखि भने अन्तिम टुंगो नलागेसम्म मुद्दाको सुनुवाइ निरन्तर हुने भनी सबै रिटलाई ‘हेर्दाहेर्दै’ को सूचीमा राख्ने आदेश गरेको थियो ।

त्यसयताका ११ दिनमा भएको बहसपछि बिहीबार इजलास उठ्नुअघि २८ जेठमा निर्णय सुनाउने आदेश भएको थियो । राउत नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् ।

अध्यादेशमार्फत कानुन संशोधन गरेर संवैधानिक पदाधिकारीमा गरिएको नियुक्तिका सम्बन्धमा मुख्यतया दुई प्रश्नमा बहस भएको थियो । पहिलो– संसद्बाट अनुमोदन हुन नसकेको अध्यादेशले कानुनको मान्यता पाउँछ कि पाउँदैन ? दोस्रो, संसदीय सुनुवाइका लागि संसद् नभएका बखत संवैधानिक नियुक्ति हुन सक्छ कि सक्दैन ?

रिट निवेदकहरूको पक्षले चार वर्षअघिको नियुक्ति गैरसंवैधानिक भएको जिकिर गरेको छ । अध्यादेशले संविधानलाई नै संशोधन गरेकाले नियुक्ति बदर हुनुपर्ने उनीहरूको तर्क छ । संसदीय सुनुवाइ अनिवार्य हुनुपर्छ भन्ने संविधानको अभिप्रायलाई छल्न प्रतिनिधिसभा नै विघटन गरिएको र विघटित संसद्को नियमावलीलाई आधार बनाएर ४५ दिन कटेपछि नियुक्ति गरिएको तर्कसहित उनीहरूले नियुक्ति खारेज गरिनुपर्नेमा जोड दिएका छन् । संसद् विघटित भइसकेपछि नियमावली पनि स्वतः निष्क्रिय हुने उनीहरूको भनाइ छ ।

अर्को पक्षले भने रिट निवेदकहरूको तर्कलाई खण्डन गर्दै रिट नै खारेज हुनुपर्ने जिकिर गरेको छ । त्यति बेला ‘आवश्यकताको सिद्धान्त’ अनुसार संवैधानिक नियुक्ति भएको र अध्यादेश जीवित नरहेकाले थप बहस नगरी रिट खारेज गर्ने सर्वोच्चको पहिलेकै दर्जनौं नजिर रहेको महान्यायाधिवक्ताको कार्यालयदेखि विपक्षी बनाइएका ५२ संवैधानिक पदाधिकारीका डेढ सयभन्दा बढी अधिवक्ताको तर्क छ ।

को कहिले नियुक्त भएका थिए ?

१ माघ २०७७ नियुक्त

–अख्तियार दुरुपयोग अनुसन्धान आयोग

प्रमुख आयुक्त प्रेमकुमार राई, आयुक्तहरू किशोरकुमार सिलवाल र जयबहादुर चन्द

–निर्वाचन आयोग

आयुक्तहरू रामप्रसाद भण्डारी र जानकीकुमारी तुलाधर

–राष्ट्रिय मानवअधिकार आयोग

अध्यक्ष तपबहादुर मगर, सदस्यहरू सूर्य ढुंगेल, लिली थापा, मिहिर ठाकुर र मनोज दवाडी

–महिला आयोग

अध्यक्ष कमला पराजुली, सदस्यहरू कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा

–प्राकृतिक स्रोत तथा वित्त आयोग

सदस्यहरू जुद्धबहादुर गुरुङ र अमरराज मिश्र

–राष्ट्रिय दलित आयोग

अध्यक्ष देवराज विश्वकर्मा, सदस्यहरू मीनादेवी सोब, टुन्जे कामी र मेहले पार्की

–राष्ट्रिय समावेशी आयोग

सदस्यहरू रामचन्द्र जोशी, हरिदत्त जोशी

–आदिवासी जनजाति आयोग

अध्यक्ष रामबहादुर थापामगर, सदस्यहरू मीनबहादुर श्रीस, रीना राना र शरण राई

–मधेशी आयोग

सदस्यहरू जीवछ साह, रेणुदेवी साह र विजयकुमार गुप्ता

–थारू आयोग

सदस्यहरू सुबोधसिंह थारू र भोलाराम चौधरी

–मुस्लिम आयोग

सदस्यहरू महमदिन अलि र मिर्जा अर्सद वेग

१० असार २०७८ मा नियुक्त

–अख्तियार दुरुपयोग अनुसन्धान आयोग

आयुक्तहरू हरि पौडेल र सुमित्रा श्रेष्ठ

–लोक सेवा आयोग

अध्यक्ष माधवप्रसाद रेग्मी, सदस्यहरू वीरबहादुर राई, दिनेश सिलवाल, माधव बेल्वासे र मञ्जु कुमारी

–निर्वाचन आयोग

आयुक्त सगुनशमशेर जबरा

–प्राकृतिक स्रोत तथा वित्त आयोग

सदस्य विपिनराज निरौला

–महिला आयोग

सदस्यहरू जया घिमिरे र सावित्रा शर्मा

–मुस्लिम आयोग

सदस्य मोहम्मद समसुल हक

–समावेशी आयोग

अध्यक्ष रामकृष्ण तिमल्सेना, सदस्यहरू पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्री

–आदिवासी जनजाति आयोग

सदस्य सूर्यबहादुर गुरुङ

–मधेशी आयोग

सदस्य आभा कुमारी

–थारू आयोग

सदस्यहरू उमाशंकरप्रसाद चौधरी र शान्ति मोदी

–दलित आयोग

सदस्य सुन्दर पुर्कुटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *