प्रिय केपी शर्मा ओलीज्यू,
नमस्कार
तपाईंको जीवन राजनीतिक आन्दोलनकै परिणाम हो।
वि.सं. २०२८ को झापा काण्ड जहाँ तपाईं आफ्ना सहकर्मीहरूसँगै “शोषणविरुद्ध क्रान्ति” का नारा लगाउँदै थुनिनुभयो, अत्याचार सहनुभयो ।
(त्यो समयमा तपाईंले नै भन्नुभएको थियो — “ठूला उद्देश्यका लागि साना-साना क्षतिलाई महत्त्व दिनु हुँदैन ।”)
तर, त्यसै क्रान्तिमा निर्दोष बच्चा र वृद्धहरू पनि मारिएका थिए — यो पनि इतिहासको हिस्सा हो ।
त्यसपछि २०४६ सालको जनआन्दोलन — जहाँ तपाईंले सडकको रगत र नारा दुवै देख्नुभयो ।
त्यो आन्दोलनमा पनि ठूला क्षतिहरू भए, तर त्यही आन्दोलनहरूले तपाईंलाई आजको केपी शर्मा ओली बनायो ।
तर, इतिहासको विडम्बना के छ भने —
आज जब नयाँ पुस्ता (Gen Z / जेएनजी आन्दोलन)
सडकमा नारा लगाउँछ, देश र जनताको आवाज उठाउँछ,
त्यसै आन्दोलनलाई तपाईं “अव्यवस्थित”, “घुसपैठ भएको”, “भडकिएको” भन्दै आरोप लगाउनुहुन्छ ।
ओलीज्यू,
आन्दोलन कहिल्यै योजनाबद्ध रूपमा चल्दैन — यो तपाईं आफैंले भोग्नुभएको सत्य हो ।
यदि त्यसबेला राजा वीरेन्द्रले २०४६ सालमा जनताको आवाज सुनेको जस्तो,
२०६३/२०६४ पछि राजा ज्ञानेन्द्रले देखाएको व्यवहार तपाईंले देखाउनुभएको भए ।
आज पनि निर्दोष नानी-बाबु-बच्चाहरूको ज्यान जाने थियो,
अनि सयौं आमाबुबाका काख रित्तिने थिए ।
तसर्थ,
कम बोल्नुस् ओलीज्यू तपाईं अब राष्ट्रका हजुरबुवा उमेरका नेता हो ।
Gen Z आन्दोलनका युवाहरूप्रति दया र समझदारी देखाउनुहोस् ।
नेतृत्व हस्तान्तरण गरेर देशका चार धाम यात्रा गर्नुहोस्,
र आत्मालोचनको बाटो रोज्नुस् त्यो नै तपाईंकै गरिमा अनुकूल हुनेछ ।
ओलीज्यू,
यदि आन्दोलन गलत हो भने,
के झापा आन्दोलन पनि गलत थियो ?
के २०४६ को जनविद्रोह अस्वीकार्य थियो ?
त्यो समय तपाईं जसको विपक्षमा लड्नुभयो
आज त्यो सत्ता तपाईंभित्रै किन फर्किएको जस्तो देखिन्छ ?
रगत, आँसु र विश्वासले बनेको लोकतन्त्रमा
नयाँ पुस्ताको आवाजलाई दमन गर्नु
क्रान्तिका सन्तानको अपमान हो ।
आन्दोलन त आन्दोलन नै हो
सडकमा उत्रिने शक्ति, विचार र असन्तोष कहिल्यै पनि
बन्दुक वा भाषणले थामिँदैन ।
त्यसैले
ओलीज्यू, इतिहास दोहोरिँदैछ, तपाईं मात्र पाटो बदल्दै हुनुहुन्छ।
स्वीकार्नुस् यो पनि आन्दोलन नै हो।
यी पनि तपाईंले झैँ न्याय, समानता र आवाजका लागि उठेका सन्तान हुन्।
समयले बदल्छ, तर आन्दोलन कहिल्यै मर्दैन।
जनक भूषाल