काठमाडौँ । लोक दोहोरी गायिका निशा गुरुङले मौलिक धारको दोहोरी गीत ‘सिंगापुर मलाय’ सार्वजनिक गरेकी छन् ।
जुन गीतको आइतबार ठमेल स्थित नगरकोट दोहोरी साँझमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगरले लोकार्पण गरिन् ।
अध्यक्ष मगरले मौलिक गीत ल्याएकोमा धन्यवाद मात्रै दिइनन् । लोक दोहोरीमा विकृति भित्रियो भन्दा कतिपयको आँखाको तारो समेत बन्ने गरेको गुनासो पोखिन् । उनले मौलिकताकै जगमा बनेका सृजनाले हाम्रो संस्कृति संरक्षणमा योगदान दिने र मौलिक गीत गाएर पनि कमाउन सकिन्छ भन्ने नजिर बसाल्न नवगान्तुक पुस्तालाई सुझाव दिइन् । अध्यक्ष मगरले आडैमा रहेका गायक अर्जुन सापकोटालाई चकलेटी गायकको ट्याग समेत दिइन् ।
गायक सापकोटाले मौलिक सृजना गाउन पाएकोमा आनन्द महसुस भएको अनुभव सुनाए । गायिका निशा गुरुङले पनि सृजना मन परेकै कारण जोखिम मोलेरै लाखौँ लगानी गरेको भावना साटिन् ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले मौलिकता नै नेपालीको पहिचान भएको बताए । उनले कलाकार र सञ्चारकर्मीको संयुक्त प्रयासले मात्रै मौलिकता जर्गेना र विकृती न्यूनिकरणमा प्रभावकारी भूमिका खेल्न सकिने बताए ।
संस्थाका उपाध्यक्ष हरी दुलालले गीत माथी समिक्षा राख्दै गीत जुन धरातलमा बनेको छ, त्यहि धरातलमा भिडियो बनेको भन्दै निर्माण टिमलाई गीत सफलताको शुभकामना दिए । राम्रोको कामको चर्चा परिचर्चाले मात्रै अर्को राम्रो सृजनाको जन्म गराउन प्रेरित गर्ने भएकाले मौलिक सृजनालाई आफू कार्यरत सञ्चारमाध्यममा स्थान दिन आग्रह समेत गरे ।
सुर्य कुमार परियारको शब्द र समिर रामदामको संगीत रहेको गीतमा निशा र अर्जुनले स्वर दिएका छन् । दीप गुरुङको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा विजय पुन, बबिन सिंह ठकुरी, कुसुम गुरुङ र निशा गुरुङले अभिनय गरेका छन् ।
मौलिक धारमा बनेको गीतलाई न्याय गर्ने गरी भिडियो समेत निर्माण गरिएको छ । भिडियो निशा गुरुङको अफिसियल यूट्युवमा देखन देख्न सकिन्छ ।